नेकपाको पहाडमा आशा, मधेशमा निराशा !

चन्द्र भुषण साह
काठमाडौं । तत्कालीन सत्ता साझेदार दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई यतिबेला धेरैले बिराट, सर्वाधिक शक्तिशाली, विश्वकै निर्वाचित पहिलो ठूलो कम्युनिष्ट पार्टी, एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी, दक्षिण एशियाकै पहिलो ठूलो कम्युनिष्ट पार्टी जस्ता उपमाहरु दिइरहेका बेला केहीले भने कम्युनिष्टले देशमा अब अनिष्ट गर्छ, अधिनायकवाद हाबी भएर लोकतन्त्र नै संकटमा पर्छ भन्ने जस्ता केही स्वाभाविक र केही अस्वाभाविक टिप्पणी, हर्ष, बिस्मात र अतिरञ्जना चौतर्फी रुपमा यसको चर्चा र परिचर्चा उत्कर्षमा पुगेको सहजै देख्न सकिन्छ ।

मार्क्सवाद र लेनिनवादलाई अङ्गिकार गरेको नेकपाको एकतालाई आम बुझाईमा वाम एकताको रुपमा समेत बुझिएको यथार्थ हामी सबै सामु छँदैछ । सन् १७८९ देखि १७९९ सम्म (फ्रान्सको राज्य क्रान्ति)को समयमा त्यहाँको स्टेट जेनरल असेम्बली (State General Assembly)मा सहभागी सदस्यहरुको बसाइको अवस्थितिलाई आधार मानेर ‘लेफ्ट’ र ‘राइट’ अर्थात् ‘वाम’ र ‘दक्षिण’ राजनीतिक शब्दको उदय र स्थापना भएको पाइन्छ ।

तत्कालिन फ्रान्समा परम्परागत पुरानो शासन, राज्यसत्ता र स्वार्थको हिमायती गर्न ‘राईट रो’ मा बस्ने दक्षिणपन्थीहरु भन्दा ‘लेफ्ट रो’ मा बस्ने वामपन्थीहरु निकै नै प्रगतिशील सोच र परिवर्तनमा विश्वास गर्ने, समानतामा आधारित सामाजिक न्याय तथा सबैलाई समान अधिकारको प्रत्याभूति गराउनको निमित्त प्रतिक्रियावादी शक्ति र राज्यको निरंकुश र निषेधित चरित्रविरुद्ध पछाडि परेका र पारिएका वर्गको आवाजलाई बुलन्द गर्दै वर्ग संघर्ष गर्ने अभिभारा बोकेका थिए ।

कार्ल मार्क्सले मानव समाजमा रहेका विभेद, असमानता, शोषण, उत्पीडन, सुख वा दुःख, सम्पन्न (मालिक) वा बिपन्न (मजदुर), ज्ञानी वा अज्ञानी हुनुको कारण इश्वरीय शक्ति नभएर, शासक वर्ग वा सत्ताले अवलम्बन गरेको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक प्रणालीको परिणाम हो भन्ने सत्यलाई विश्वका अगाडि स्पष्ट पर्दै मानव जातिको इतिहासमा द्वन्द्वात्मक भौतिकवाद र वर्ग संघर्षलाई उजागर गरी सर्वहारा वर्गलाई दलाल पूँजीपति र समान्तवर्गले कसरी शोषण (दमन गर्छ भनेर अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरिदिएका छन् । तर, आजको दिनमा पनि अन्धविश्वास, असमानता र अन्यायको जाँतोमा पिल्सिएका करोडौँ मानव जातिले आफ्नो मुक्ति र प्रगतिको लागि विश्वास र अङ्गिकार गरेको माक्र्सको समाजवादको मूलभूत सिद्धान्तको अपहेलना समाजवादी रथको चालकबाट पनि हुनु निकै अकल्पनीय र दु:खद परिघटना हो ।

नेपालको संविधानले समेत अङ्गिकार गरेको जातीय, लैंगिक, क्षेत्रीय (भौगोलिक) समावेशीकरणको मूलभूत मर्म र सिद्धान्तविपरीत नेकपाले आफ्नो सांगठानिक संरचना निर्माण गरेको यथार्थ हामी सामु छ । जसमा नेपाली राजनितिको मूल अखडा मानिने मधेशमा दलाल पूँजीवादी, सामन्त, प्रतिक्रियावादीहरु हिमाल र पहाडको तुलनामा अत्यन्त बलशाली अवस्थामा रहेको छ । तर, मधेशको इमान्दार, निष्ठावान, शसक्त, जुझारु इतिहास बोकेका नेता कार्यकर्ताको अवमूल्यन र अपहेलनाले वर्तमान र निकट भविष्यमा सबैभन्दा बढी घाटा नेकपालाई नै पुग्ने देखिन्छ किनभने पार्टीको हेडक्वाटर मानिने सचिवालयमा महिला र मधेशी समुदायबाट शून्य सहभागिता हुनु, स्थायी सदस्य र केन्द्रीय सदस्यमा नाम मात्रको सहभागिता गराउनु जस्ता पार्टीको मधेशी उपेक्षित कार्यबाट नेता, कार्यकर्ताहरुका मनोबलमा गिरावट र आक्रोश उत्पन्न सहजै देख्न गर्न सकिन्छ ।

पार्टीको निर्णायक नेतृत्व तहमा मधेसीको कमजोर उपस्थितिले मधेशमा तुलनात्मक रुपमा निराशा छाएको पाइन्छ । पार्टीले घोषणा गरेको २२ वटा जनवर्गीय सङ्गठनको एकता कार्यदल मध्ये केबल ३ वटा (मधेशी, मुस्लिम र सुकुम्बासी)मा मात्र मधेशीको अनुहार देख्न सकिन्छ ।

मधेशमा तत्कालीन एमालेको तुलनामा माओवादी केन्द्रको साख, शक्ति र अपनत्व बढी रहेको कुरा कसैबाट लुकेको छैन । तर, पहिचानको पर्यायवाची मानिने तत्कालीन माओवादी केन्द्र अन्ततः एमालेसँग पार्टी एकीकरण भएसँगै इमानदार नेता कार्यकर्ता र मतदाताको आस्था, भावना र मनोविज्ञानलाई समेटन र व्यवस्थापनमा ध्यान दिन सकेको देखिँदैन ।

दशवर्षे जनयुद्धमा वीरगति प्राप्त गरेका वीर सहिदहरु चाहे ती सिन्धुलीको भिमानका होस् या सर्लाहीको मलंगवा वा जुम्लाको खलंगा होस् या रोल्पाको लिवाङ्गका सहिदका रगतको समान मूल्याङ्कन हुनुपर्छ । नेतृत्वको आसेपासे, स्वाभिमान गुमाएका आत्मसमर्पणवादी, राजनीतिक साख र स्थानीय धरातल गुमइसकेका चाप्लुसी र चाकडीको भरमा राजनीतिक गर्ने सोच बनाएका अधमरु (आधा मरेको) मुठीभर नेता कार्यकर्ताको उच्च मूल्याङ्कनले जनप्रिय, जीवित र स्वाभिमान बोकेकाहरुलाई घाँटीको हाड निल्नु न ओकल्नु बराबर भएको तीतो–सत्य हामी सामु नै छ । सामाजिक रुपमा मजबुत, स्वाभिमानी, निर्भिक र जीवित नेता कार्यकर्तालाई पाखा लागएर सामाजिकरुपमा अर्धमृत नेता कार्यकर्ताबाट समाजवाद रक्षाको परिकल्पना गर्नु सूर्य पश्चिमबाट उदाउने सपना देख्नु बराबर हो ।

विशाल भारतसँगको खुल्ला सीमाना, अलग्वावादको बिजारोपण, बिभिन्न बेथिति र लामो समयसम्मको अन्तर–संघर्षको चपेटामा परेको मधेश र मधेशी नेता कार्यकर्तालाई खुल्ला हृदयले राष्ट्र हितका लागि तुलनात्मकरुपमा नेकपाले वर्तमान समयमा विशेष महत्व दिनुपर्ने, पार्टीप्रति निष्ठावान, सक्षम र इमान्दारलाई अवसर र सम्मान दिनुको सट्टा उल्टो पथमा हिँडेको देखिन्छ ।

अन्य साना पार्टीका मन्त्रीलाई सरकारको उपप्रधानसहित दोश्रो बरियतामा राख्न तयार हुने तर आफ्नै पार्टीको स्थापित नेता (लालबाबु पण्डित, प्रभू साह, मातृका यादव, रघुवीर महाशेठ…) जस्तालाई पाँचौं बरियतामा राख्न पनि दाँतबाट पसिना निकाल्नु बिडम्बना हो ।
उत्पीडित जनता र सर्वहारावर्गमाथि गरिने शोषणको नाङ्गो रूपलाई छोप्नका लागि देशी–विदेशी दलाल र पूँजीवादीहरुले प्रजातान्त्रिक समाजवादको आवरण प्रयोग गर्न थालेको सन्दर्भमा वैज्ञानिक समाजवाद पुग्ने सपना देखेका कम्युनिष्टहरुले आपसी मतभेद, आशंका र अन्तर्विरोधको हल गरेर अगाडि बढ्न सक्नु पर्दछ ।

  • इश्वरपुर २, सर्लाही (हाल काठमाडौं)
  •  
    6
    Shares
  • 6
  •  
  •  
  •  

तपाइको मत