मातृभाषामा कक्षा सञ्चालन गर्ने विद्यालयलाई सरकारले अनुदान दिने !

५ साउन ०७५, काठमाडौं । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले मातृभाषामा कक्षा सञ्चालन गर्ने विद्यालयलाई सरकारले अनुदान दिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको पदाधिकारी बैठकमा बोल्दै मरामुमो नेपालका अध्यक्ष समेत रहेका मन्त्री मगरले सो कुरा बताएका हुन् ।

मातृभाषामा कक्षा सञ्चालन गर्ने विद्यालयहरुले मातृभाषाको पठनपाठन नगराई मातृभाषामा केन्द्रीय पाठ्यक्रमको अध्ययन अध्यापन गराउनु पर्नेमा उनले विशेष जोड दिए ।

यस्तै स्थानीय तहले मातृभाषामा विद्यालय सञ्चालन र पठनपाठन गराउने भए प्रदेश सरकारले अनुदान रकम र अन्य थप बजेटको समेत व्यवस्था गर्न विशेष पहल गर्ने बताए ।

मन्त्री बरालले ५ नम्बर प्रदेशको दाङ जिल्लामा थारु सङ्ग्राहलय र पाल्पा जिल्लामा मगर सङ्ग्राहलय बनाउने आफ्नो योजना रहेको पनि सुनाए ।

तत्कालिन नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल तीन तहको निर्वाचन सम्पन्न भएपछि जुन किसिमले सक्रिय हुनुपर्दथ्यो, त्यसो हुन नसकेको उनको जोड थियो ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनतर्फ संकेत गर्दै मन्त्री बरालले भने, ‘निर्वाचनमा टिकट पाउने कमरेडहरु व्यस्त र टिकट नपाउनेहरु रुष्ट भए, जसले गर्दा संगठनले गति लिन सकेन ।’

एमाले र माओवादी केन्द्र एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि बसेको माओवादी केन्द्र निकट मगर मोर्चाको उक्त बैठकले एकतामा जाँदा मरामुमो नेपालले एकतापछि बन्ने नयाँ संगठनको नेतृत्व लिने लगायत केही महत्वपूर्ण निर्णय गरिएको मोर्चाका महासचिव दुर्लभ पुनले हाकाहाकीलाई जानकारी दिए ।

उक्त बैठकमा ७ वटै प्रदेशको रिर्पोटिङ्ग सकिएपछि नेकपाका स्थायी कमिटी सदस्य देव गरुङ, मरामुमोका ईन्चार्ज लोक बहादुर थापा मगरले विकसित पछिल्लो राजनीति घटनाबारेमा प्रकाश पारेका थिए ।

  •  
    5
    Shares
  • 5
  •  
  •  
  •  

तपाइको मत