सरकार र डा. गोविन्द केसी बीच नौंबुँदे सहमति : उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने

निता पुन

११ साउन ०७५, काठमाडौं । सरकार र डा. गोविन्द केसी बीच नौंबुँदे सहमति भएको छ । यो सहमतिसँगै काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने भएको छ ।

बिहीबार डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा दुई पक्षबीच विधेयक संशोधन गर्ने सहमति भएसँगै २७ दिन लामो केसीको अनसन तोडिएको हो ।

केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको हातबाट जुस पिएर अनसन तोडेका डा. केसीले लिखित वक्तव्य मार्फत् सहमतिका लागि पहल गर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरु र वार्ता टोलीका सदस्यहरु साथै अनसनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

विधेयकको दफा १२ मा संशोधन गरे ‘ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेक्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन’ व्यवस्था गरिनेछ ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मूल विषयबस्तुबाटै हटेपछि डा. केसी अध्यादेशको हुबहु विधेयक हुनुपर्ने भन्दै डा. केसी जुम्लामा गएर अनसन बसेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत