गण्डकी प्रदेशको लोगो सार्वजनिक

१५ असोज ०७५, कास्की । गण्डकी प्रदेशले प्रदेशसभाको समग्र पहिचान झल्किने प्रदेश लोगो सार्वजनिक गरेको छ ।

सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको हुन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो ।

लोगोको सबैभन्दामाथि माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृंखलामार्फत गण्डकी प्रदेशको हिमाली क्षेत्रलाई संकेत गरिएको छ । त्यसभन्दा तल पहाडी र तराई क्षेत्रको डाडाँलाई संकेत गरिएकोे छ ।

गण्डकी प्रदेश अन्तर्गतका नदीलाई पनि लोगोमा देखाइएको छ भने नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज आसपासमा पाइने गैंडा, मृग र राष्ट्रिय चरा डाँफेलाई पनि देखाइएकोे छ भने गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति जातजातिको पोशाकसहितको चित्रले छुट्याइएको छ ।

लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।

त्यस्तै, प्रदेशसभाका सदस्यहरुको पोशाकमा खैरो रङ छानिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत