नारायणहिटीमा श्रीपेच र राजदण्ड प्रदर्शनीमा

२९ असोज ०७५, काठमाडौं । राजाहरुले लगाउने श्रीपेच र राजदण्ड  सार्वजनिक प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपेच, राजदण्ड लगायत अन्य सामग्री प्रदर्शनीमा सोमबारदेखि राखिएको हो ।

नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनपछि दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीक श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले ०६२÷०६३ को राजनीतिक परिवर्तनपर्छि संग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याईएको बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई संग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए ।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पु¥याउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो ।

श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँख, ७३० हीरा र दुई हजार ३७२ मोती जडित रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत