जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ– गृहमन्त्री

९ कार्तिक ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् ।

शुक्रबार विभागमा आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै गृहमन्त्री ।

गृहमन्त्री थापाले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यी निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताउँदै भने –‘विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ । ’

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताउँदै भने –‘सहि योजना बनाउन पर्याप्त सूचना आवश्यक छ । त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् । ’

बिभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिया भईरहेको भन्दै तिनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए ।
गहृमन्त्री थापाले कार्यक्रममा दिक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको सुभकामना दिँदै देशले उनीहरुबाट धेरै आशा व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भईरहेको जानकारी दिए ।

अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले राज्यको आवश्यकता र सोँच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पारे ।

तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराई सहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत