साझाले काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा

६ कार्तिक ०७५, काठमाडौं । साझा यातायातले काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई पाँच वटा बिजुली बस दिएको हो । तर, लुम्बिनीमा पूर्वाधार नबनेकाले हाललाई साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति भएको छ ।

गौतमबुद्ध विमानस्थल नबनेसम्म उपत्यकामा बिजुली बस चलाउने सहमति भएको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले लुम्बिनीमा पूर्वाधार नबनिसकेकाले हाललाई साझाको व्यवस्थापनमा उपत्यकामा चलाउने घोषणा गरिएको बताए ।

बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत