जापान जान चाहनेले अब भाषा परीक्षा अनलाइनबाटै दिन पाउने

१५ कार्तिक ०७५, काठमाडौं । अब जापान जान चाहने नेपालीले अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।

जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको र सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक सातापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ ।

मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क तीन हजार ५ सय लाग्नेछ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिनेछ । रासस ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत