ढोरपाटनको नविमा आगोलागीबाट ३० घर जलेर नष्ट, क्षतिको विवरण आउनै बाँकी

९ मंसिर ०७५, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ नविमा शनिबार राति लागेको आगोलागिले ३० घर जलेर नष्ट भएका छन् ।

ढोरपाटन शिकार आरक्षको मुख्य कार्यालय नजिकै रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका हुन् ।

ढोरपाटनमै रहेको सेनाको हनुमानध्वजका जवानहरुले आगो नियन्त्रणमा लिएकोले आगोबाट २३ घर भने जोगाउन सफल भएका छन् ।

आगोे नियन्त्रणका लागि गुल्मपति रबिजंग खड्काको नेतृत्वमा १ सय २३ सेना परिचालन भएका र बिहान ८ बजे मात्र आगो नियन्त्रणमा ल्याउन सफल भएको सेनाले जनाएको छ ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीयबासी घुम्ती बसाइका लागि तल्लो वोबाङ र अन्य ठाउँमा सरेको बेला आगो लागेको हो ।
तर आगो कसरी लाग्यो भन्ने खुलेको छैन । क्षतिको विवरण भने आइसकेको छैन । घुम्ती बसाइँ सरेका स्थानीयबासीलाई आगो लागेको खबर पठाइएको र उनीहरु फर्किएपछि क्षतिको विवरण प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका र अधिकांश घर काठको फलेक र केही खरले छाएका कारण क्षति भएका घरहरुको संख्या बढ्न सक्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत