१२ वर्षदेखि साङ्गलोमा बाँधिएका चौधरीको उद्धार

२३ मंसिर ०७५, राजविराज । १२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी उमाकान्त चौधरीको उद्दार गरिएको छ ।

अग्नीसाइर कृष्णसवरन गाउँपालिका १ का ४४ वर्षीय चौधरीको इन्सेक प्रतिनिधि तथा अन्नपूर्ण पोस्टका सम्वाददाता मनोहर पोखरेललको पहलमा उद्दार गरिएको हो ।

अन्नपूर्ण पोस्ट, एपी वन टेलिभिजन तथा इन्सेक अनलाइनमा तस्विर र भिडिओसहित १२ वर्षदेखि साङ्गलोमा बाँधिएका उमाकान्तको समाचार सार्वजनिक भए लगत्तै मानव सेवा आश्रमको सहयोगमा पीडित चौधरीको उद्दार गरी उपचार तथा स्याहारका लागि हेटौडास्थित मानव सेवा आश्रम पठाइएको छ ।

घटना थाहा पाएलगत्तै मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखरेलसँग सम्पर्क गरी आवश्यक उपचार तथा स्याहार आश्रमले गर्ने बताएका थिए ।

मानसिक रोगी चौधरीको उद्धारका लागि इन्सेक प्रतिनिधिले अनुरोध गरेलगत्तै मानव सेवा आश्रमका सदस्य सुनम बडतौला, अभियन्ता नवराज केसी, साधक सन्त लामा शनिबार सप्तरी आएका थिए ।

पोखरेलको पहलमा उद्धारका समयमा प्रतिनिधि सभा सदस्य सरीता गिरी, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, राजविराजस्थित अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, अग्नीसाइर कृष्णसवरण गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा १ का अध्यक्ष सुशिल चौधरी, वडा ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, रासस प्रतिनिधि नानीमैया कटवाल पीडितको घर पुगेका थिए ।

उद्धार गरेर लैजाने बेला पूर्व–पश्चिम राजमार्गस्थित रुपनी गाउँपालिकाको बिरेन्द्र बजारमा भेट भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सशस्त्रका एसपी खेम थापा र जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले समेत पीडितको उद्धारका लागि पहल भएकोमा धन्यवाद व्यक्त गरे ।

आश्रमको बडतौलाका अनुसार मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीले पीडितको नियमित उपचार गर्नेछ । लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा. दासले चौधरीको सबै किसिमको स्वास्थ्य परिक्षण गरी अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने बताए ।

तीन छोरी र मानसिक रोगी पतिको जिविकोपार्जनका लागि दिनरात मजदुरी गर्दै आएकी पीडितकी ४१ वर्षीया पत्नी सुशीलादेबी चौधरीले घर परिवारमा पुरुष मान्छे अभिभावक नहुदाँ र आर्थिक अभावका कारण पतिको उपचार गर्न नसकिएको भन्दै सहयोग जुटाइदिन आग्रह गर्दै आएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत