२३ मंसिर ०७५, राजविराज । वाइसिएल नेपाल राजविराज नगरपालिका १ का सहसंयोजक २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा फरार रहेका एक युवक पक्राउ परेका छन् ।
फरार रहेका राजविराज ११ का २० वर्षीय आनन्दकुमार यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
यादवलाई सुनसरीको लौकहीबाट पक्राउ गरी कारवाहीका लागि सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । डिएसपी रिमालका अनुसार जिल्ला अदालतबाट आइतबार म्याद थप गरी यादवविरुद्ध कारवाही प्रकृया अगाडि बढाइने छ ।
जिल्ला अदालत सप्तरीले आरोपितसहित १३ जनालाई हत्या आरोपमा मङसिर ४ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले असोज २८ गते उजुरी दर्ता गरी राजविराज नपा–११ का १७ वर्षीय बालकलाई असोज २८ गते र मिथलेशकुमारलाई असोज ३१ गते गिरफ्तार ग¥यो ।
हत्या आरोपमा असोज ३१ गते पक्राउ परेका राजविराज १२ का २५ वर्षीय मिथिलेशकुमार यादव हाल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने असोज २८ गते पक्राउ परेका १७ वर्ष १० महिना २१ दिनका एक बालकलाई आमाको संरक्षकत्वमा जिम्मा लगाई तारेखमा रिहा गरिएको छ ।
आरोपितहरुले गत असोज २३ गते घेरा हाली धारिलो हतियारले गरेको आक्रमणबाट असोज २४ गते राति मृत्यु भएको भन्दै मृतकका बुवा भन्नालाल यादवले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते कर्तव्य ज्यानको उजुरी दर्ता गराएका थिए ।