५ पुस ०७५, काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले आधुनिक शैलीमा खेती नगरेसम्म उत्पादन लागत नउठ्ने बताएका छन् ।
परम्परागत शैलीमा खेती गरे किसानलाई ऋण र अनुदान दिए पनि लागत नउठ्ने हुँदा आधुनिक शैली अपनाउनु पर्ने बताएका हुन् ।
मकवानपुर कुखुरा व्यवसायी संघको १२ औं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री खनालले सरकारले किसान बैकको स्थापना गरी कृषिमा आएको सबै अनुदानलाई एकीकृत गर्दै कम्तीमा ३ प्रतिशत व्याज किसानलाई ऋण दिलाउने काममा लागि परेको पनि मन्त्री खनालले बताए ।
मन्त्री खनालले देश कुखुरामा आत्मनिर्भर भने पनि दानासहितका विभिन्न सामग्री भारतबाट ल्याउनुपरेको भबताउँदै जीविकोपार्जनका लागि मात्र नभई व्यवसायिक रुपमा कुखुरापालन गर्न किसानलाई आग्रह गरे ।
त्यस्तै, उनले पर्यटनले २÷४ लाख र उद्योगले केही हजार संख्यामा रोजगारी सिर्जना गरे पनि नेपालीको आय स्तर सुधार्नका लागि आधुनिक कृषि प्रणालीको विकल्प नभएको धारणा राखे ।
उनले नेपालको कृषि प्रणाली बिचौलियाको चंगुलमा रहेकाले त्यसलाई हटाउनुपर्ने जिम्मेवारी रहेको पनि बताए ।