मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम सम्पन्न (मार्चपास/नृत्यको भिडियोसहित)

कोटबाडा घटनाका सहिद परिवार र उनीहरूका आफन्तजनका साथ मजदुर नेताहरू ।

१२ फागुन ०७५, धादिङ । अखिल नेपाल ट्रेड युनियन महासंघले ‘मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम’ देशभर भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

महासंघले २०५८ फागुन ११ गते कालिकोटको कोटवाडा विमानस्थल निर्माण गर्दै गर्दा तत्कालीन शाही सेनाको आक्रमणमा साहदत भएका मजदुरहरु र जनयुद्धकाक्रममा साहदत सहिदहरूको सम्झनामा यो दिवस मनाएको हो ।

महान् जनयुद्धका क्रममा साहदत हुुनु भएका मजदुर सहिदका तस्बिरमा अबिर र पुष्पार्पण गर्दै सांसद जगत सिंखडा ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बिशालटारमा महासंघले केन्द्रीय कार्यक्रम आयोजना गरी यसवर्षको मजदुर बलिदान दिवस कोटबाडाका मजदुर सहिदका परिवार र आफन्तजनलाई जनही नगद रू.१/१ हजार र दोसल्ला ओढाएर सम्मान गरी मनाएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि एवम् महासंघका महासचिव समेत रहेका ३ नम्बर प्रदेश सभाका सांसद जगत सिंखडाले भने, ‘मजदुर बलिदान दिवस श्रमिकहरूको राष्ट्रिय कार्यक्रम हो, यो दिवस आज हामीले सातै प्रदेशमा एकसाथ मनाइरहेका छौं ।’

अन्टुफ उपाध्यक्ष/३ नं. प्रदेश इन्चार्ज जय कार्की, मजदुर नेताहरू बलिदान दिवसपछि सामुहिक तस्बिर खिचाउँदै ।

अहिले जेजति परिवर्तन र प्राप्तिहरू भएका छन्, ती सबै श्रमिकहरूका बलिदानीबाट प्राप्त उपलब्धि हुन् भन्दै सांसद सिंखडाले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक, समावेशिता, हालै आएको श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, न्यूनतम् वेतनबृद्धि लगायतका प्राप्तिहरू महान सहिद, बेपत्ता, घाइते, अपाङ्गहरूका त्याग र बलिदानीका उपज हुन् ।’

मजदुर बलिदान दिवससँगै निर्माण मजदुरको मोरङ जिल्ला भेला उदघाटन गर्दै पूर्वमन्त्री शिवकुमार मण्डल ।

मजदुर बलिदानी दिवस सहिदहरूलाई स्मरण गर्ने दिन मात्रै नभएर निरन्तर क्रान्तिमै इट्टा थप्ने कार्य भएकाले सहिद, बेपत्ताजनका अधुरा सपनाहरू पूरा गर्न आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै सांसद सिंखडाले नेपालको श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न यो दिवसलाई संघर्षकै रूपमा लिनुपर्ने बताए ।

मजदुर बलिदान दिवसपछि सामुहिक तस्बिर खिचाउँदै १ नं. प्रदेशका मजदुर नेताहरू ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको आयोजनामा आयोजित उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भूमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो भने महासंघका उपाध्यक्ष सोम बहादुर थापा, सचिवालय सदस्य भेषराज दाहाल, शिव पोखरेल, केन्द्रीय सदस्य रामचन्द्र ढुङ्गाना, बेनिघाट रोराङ गाउँपालिका प्रमुख हरि डल्लाकोटी, महासंघका जिल्ला अध्यक्ष साथै कोटबाडाका सहिद परिवार र उनीहरूका आफन्तजनको विशेष आतिथ्यता एवम् उपस्थिति रहेको थियो ।

मजदुर बलिदान दिवसका अवसरमा आयोजित सो कार्यक्रममा विभिन्न विद्यालयका छात्र–छात्राहरूले मार्चपास र नृत्य समेत प्रदर्शन गरेका थिए ।

मार्चपास/नृत्यको भिडियो

यसैगरी बलिदान दिवसकै अवसरमा महासंघको १ नं. प्रदेश उपाध्यक्ष पदम दाहाल, राजन काफ्लेकाेे आतिथ्यतामा लाहान नगरपालिकामा १३ सदस्यीय अखिल नेपाल सेक्युरिटी मजदुर संघ र त्रियुगा नगरपालिकामा १३ सदस्यीय अखिल नेपाल विधुतीय ईरिक्सा तथा अटाे मजदुर संघ गठन गरिएकाे छ ।

  •  
    81
    Shares
  • 81
  •  
  •  
  •  

तपाइको मत