मन्त्री अधिकारीसहित ७ जनाको स्मरणमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक विदा

१५ फागुन ०७५, काठमाडौं । सरकारले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुःखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको स्मरणमा भोलि राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक सकिए लगत्तै गृहमन्त्री रामबहादुर थापाले निर्णय सार्वजनिक गर्दै फागुन १६ गते सरकारी कार्यालयमा झण्डा आधा झुकाउनुका साथै सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक विदा दिने घोषणा गरेको बताए ।

गृहमन्त्री थापाले दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम योग्य प्रसाद गौतमको अध्यक्षतामा ४ सदस्यीय जाँच आयोग गठन गरिएको बताए । आयोगका सदस्यमा दीपक बास्तोला, प्रमोद लामा र बुद्धिसागर लामिछाने रहेका छन ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत