माथिल्लो त्रिशूली थ्री ‘बी’ आईपीओमा ५६ लाख कित्ता बढीको आवेदन, प्रधानमन्त्री दम्पतीसहित उर्जामन्त्रीको आवेदन

७ चैत्र ०७५, काठमाडौं ।  माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै ५६ लाख कित्ता बढीको आवेदन परेको छ ।

‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो पटक खुला भएको आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका छन् ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘बी’ प्रधानमन्त्री पत्नी राधिकाले समते १० हजार कित्ताकै लागि आवेदन दिएकी छिन् ।

बिहीबार आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री दम्पतीसहित उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुन समेतले उक्त आयोजनाको आईपीओका लागि आवेदन दिएका हुन् ।  मन्त्री पुनले  एक हजार कित्ताका लागि मात्रै आवेदन दिएका छन् ।

आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री दम्पति तथा विभागी मन्त्रीसमेतले कार्यक्रम नै आयोजना गरेर सेयरका लागि आवेदन दिएका हुन् ।

फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।
नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गर्न लागिएको हो ।

त्रिशुली जलविद्युत् कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । सो कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कति दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

अग्रिम रुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

पहिलो दिनमै ५६ लाख ६० हजार ९ सय ३० कित्ताका लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत