नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर

११ चैत्र ०७५, काठमाडौं । नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ ।

नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका हुन् ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिनेछ ।

पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् र दोस्रो वर्ग (एसएसडब्लू (आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ ।

नेपाली श्रमिक जुन कार्यक्षेत्रमा गएका छन्, त्यही कार्यक्षेत्रमा रोजगारदाता परिर्वतन गर्न सक्नेछन् । यसमा सामाजिक रोजगार सेवा केन्द्रले सहयोग र समन्वय गर्नेछ ।

त्यस्तै, नेपाली कामदारहरुले जापानमा त्यहाँका नागरिक सरह सेवा सुविधा पाउने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी अनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् ।

जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ ।

समझदारी अनुसार कामदार भर्ना र आपूर्तिका लागि छुट्टै सरकारी संयन्त्र खडा गरी त्यही संयन्त्रमार्फत् नेपाली कामदार पठाइनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत