प्रलेसको नयाँ कार्यसमिति चयन

१६ चैत्र ०७५, राजविराज । प्रगतिशील लेखक संघ, नेपाल सप्तरीको प्रथम सम्मेलनले पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

प्रलेसको कार्यसमिति ।

कञ्चनरुपमा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा गठन गरेको प्रलेस सप्तरीको उपाध्यक्षमा मेघराज पौडेल, सचिवमा भोजराज मुखाले, सहसचिवमा रोमा लम्साल र कोषाध्यक्षमा इश्वरीप्रसादलाई चयन गरिएका हो ।सदस्यहरुमा इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहरकुमार पोखरेल रहेका छन् ।

सम्मेलनले आगामी चैत २२–२३ मा हुने राष्ट्रिय सम्मेलनका लागि चन्द्रमणी पौडेल, रोमा लम्साल र भोजराज मुखालेलाई पठाउने निर्णय गरेको छ ।

सम्मेलनमा प्रलेस नेपालका केन्दीय उपाध्यक्ष बैजयन्ती मिश्रले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए । उपभोक्तावादी संस्कृतिले प्रगतिशील लेखकीय आन्दोलनलाई आंच पु¥याउने भन्दै मिश्रले अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचारको विरुद्व र राष्ट्रियताको पक्षमा लेखकहरुले कलम चलाउनु पर्नेमा जोड दिए ।

देशमा सांस्कृतिक आक्रमण बढ्दै गएकाले लेखकहरु सचेत हुनुपर्ने अवस्था आएको बताउँदै राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, कञ्चनरुप नगर प्रमुख बसन्त मिश्र, सप्तकोशी नगर प्रमुख उत्तम शर्मा, उदयपुर प्रलेसका अध्यक्ष माधव गोजाङ्ग्रे र मोरङ्ग प्रलेसका सदस्य यज्ञराज परिश्रमीले लेखकहरुले साहित्यको माध्यमबाट खवरदारी गर्नुको विकल्प नभएको बताए ।

सहभागी अन्य वक्ताहरुले देशमा गणतन्त्र आएपनि सामन्तबाद कायमै रहनुका साथै असमानता, अराजकता, भ्रष्टाचार र वेथिति कायमै रहेकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा,चन्द्रमणी पौडेल, तिर्थराज पोखरेल, नन्दलाल आचार्य, मेघराज पौडेल, भोजराज मुखाले, पार्वती राउत, रोमा लम्साल, सुरेन्द्र गुप्ता, बोधराज सुबेदीलगायतले कविता, गजल र मुक्तक वाचन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत