बारा र पर्साका हावाहुरी प्रभावितहरुको लागि जनता आवास निर्माणको शिलान्यास

२१ बैशाख ०७६, काठमाडौं । बारा र पर्साका हावाहुरी प्रभावितहरुको लागि जनता आवास निर्माण आयोजनाको शिलान्यास गरिएको छ ।

नेपाली सेनाले बनाउन लागेको घरहरुको निर्माण आयोजनाको शनिबार संघीय सरकारका उपप्रधानमन्त्री, मन्त्री र प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले जनता आवास निर्माण योजनाको शिलान्यास गरेका हुन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा, गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ प्रसौनीको खुटवा जब्दीमा, स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले परवानीपुरको चैनपुरमा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिकाको फुलवारीया र देवतालको रमपुर्वामा शिलान्यास गरेका छन् ।

त्यस्तै, शहरी विकासमन्त्री इस्तियाक राईले फेटा गाउँपालिका वडा नं ४– भरवलीयामा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले फेटा गाउँपालिका वडा नं ४ भलुहीमा, भूमिव्यवस्थामन्त्री पदमा अर्यालले बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बाराकै पचारौता नगरपालिका वडा नं ७ बेनौलीमा, उर्जामन्त्री वर्षमान पुनले वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरमा, खानेपानी मन्त्री विना मगरले वीरगञ्ज महानगरको उदयपुर घुर्मीमा शिलान्यास गरेका छन् ।

घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले १२ वटा क्लष्टर बनाएर तीन चरणमा घर निर्माणको काम सुरु गर्नेछ । घरमा दुई वटा रुख, एउटा बरण्डा र एउटा वाथ रुम रहने सेनाले जनाएको छ । पूर्ण रुपमा क्षति भएको १३ सय ६५ वटा घरहरु पहिलो चरणमा निर्माण गरिने छ ।

गएको चैत १७ गते आएको हावाहुरीले बितण्डा मञ्चाउँदा बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत