विगत एक वर्षदेखि कक्षा कोठा मै वडा कार्यालय र स्वास्थ्य क्लिनिक सञ्चालन, पढाई प्रभावित

१९ जेठ ०७६, सप्तरी । विगत एक वर्षदेखि महदेवा गाउँपालिकास्थित सरकारी विद्यालयको कक्षा कोठामा वडा कार्यालय र शहरी स्वास्थ्य क्लिनिक सञ्चालन भएपछि विद्यार्थीको पढाई प्रभावित हुने गरेको छ ।

सप्तरीको महदेवा गाउँपालिका ५ स्थित भगवति राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा विगत एक वर्षदेखि वडा कार्यालय र सोही गाँउपालिकाको वडा ६ स्थित बजरंगवली आधारभुत विद्यालयको एउटा कक्षाकोठामा शहरी स्वाथ्य क्लिनिक सञ्चालन हुदै आएको हो ।

कक्षा कोठामा सञ्चालित स्वास्थ्य क्लिनिक ।

दुवै विद्यालयको उक्त कक्षा कोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षा कोठामा कोचाकोच गरी राखिएको छ ।

यसरी एउटै कक्षा कोठामा कोचाकोच गरी डेस्क बेन्च र विद्यार्थीहरुलाई राखेर पठनपाठन गराउँदा समस्या हुने गरेको शिक्षकहरुको भनाई छ । तर जनप्रतिनिधीले नै यस्तो गरेको कारण उनीहरु खुलेर बोल्न भने डराउँछन ।

उक्त विद्यालयका एक शिक्षकले नाम उल्लेख नगेर्न सर्तमा निजी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुलाई कमिलाले मात्र टोकेपनि अभिभावकले गुनासो गर्न आउँछन तर, यो सरकारी विद्यालयमा कोचाकोच गरेर विद्यार्थी पढाउनु पर्ने बाध्यता रहदा पनि जनप्रतिनिधीका डरले कोही बोल्न नसकेको बताए ।

कक्षाकोठाको अभाव भएपछि एकै कोठामा कोचाकोच गरी पढाउँदा विद्यार्थीसँग आफुलाई पनि असहज हुने गरेको शिक्षकहरुको भनाई छ ।

बजरंगवली आधारभुत विद्यालयमा २ सय ७० र भगवती राप्राविमा १ सय ६० गरी कुल ४ सय ३० विद्यार्थीहरु अध्ययनरत छन् ।

यसबारे भगवति राष्ट्रिय प्राथमिक विद्यालयका प्रअ रामकृपाल पण्डित र बजंरगवली आधारभुत विद्यालयका प्रअ कृष्णदेव मण्डलसँग जिज्ञासा राख्दा दुबैले कक्षाकोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनक सञ्चालन हुदाँ पठनपाठनमा समस्या भएको स्विकार्दै केही दिनका लागि मात्र उक्त कोठा उपलब्ध गराइएकोमा जनप्रतिनिधीको ढिलासुस्तिले समय लम्विदै गएको लाचारी सुनाए ।

यता वडा नं. ५ का वडाध्यक्ष रमेश प्रसाद मण्डल तथा वडा नं. ६ का वडाअध्यक्ष उमेश यादवले भवनको अभावमा तत्काल विद्यालयको कक्षा कोठा प्रयोग गरिएको बताउँदै वैकल्पिक व्यवस्था गरी छिट्टै कक्षाकोठा खाली गर्ने प्रतिक्रिया दिए ।
शिक्षा समन्वय इकाइ समितिका प्रमुख फनिन्द्र खत्रीले विद्यालयको कक्षाकोठामा लामो समयदेखि वडा कार्यालय र स्वास्थ्य क्लिनिक सञ्चालन गर्नु दुःखद विषय भएको बताए । उनले जनप्रतिनिधीले सहयोग गर्नुको सुट्टा उल्टै पठनपाठन नै प्रभावित पार्ने गरी गतिविधि गर्नू गलत भएको बताउँदैँ यसबारे आफुले पनि सम्बन्धित निकायमा जानकारी गराई आवश्यक पहल गरिरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत