गुठी विधेयक र लोक सेवा आयोगको सूचना संविधान विपरीत – पूर्वउर्जा राज्यमन्त्री दोङ

२ असार ०७६, काभ्रे । पूर्वउर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’ले गुठी विधेयक र लोक सेवा आयोगको पछिल्लो सूचना संविधानको मर्म विपरीत आएको बताएका छन् ।

आइतबार धुलिखेलमा अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे जिल्ला कमिटीको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्नेक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत रहेका नेता लालध्वजले यस्तो बताएका हुन् ।

‘गुठीभित्र राम्रा पक्ष पनि छन् । त्यहाँ नेवारहरू, संस्कृति र पर्वहरू छन् । त्यसको संरक्षण गर्नु पर्छ’ नेता लालध्वजले भने ।

उनले नेपालमा कम्युनिष्टको स्थिर सरकार रहेको र यसले जनताको पक्षमा पनि केही राम्रा कामहरू गरेकाले केही राजनीतिक दलहरू सरकार असफल बनाउने षड्यन्त्रमा लागेको बताए ।

अर्को एक प्रसङ्गमा, उनले लोक सेवा आयोगको पछिल्लो सूचना संविधानको मर्म विपरीत आएको भन्दै उक्त सूचना सच्याउनु पर्ने बताए । साथै, आयोगको विज्ञापनले आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रलाई उपेक्षा गरेको मात्र नभई संविधानको भावनालाई कुल्चिएको बताए । यस्तै मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्ने हो भने सरकारमाथि गम्भीर प्रश्न उठ्नेछ भन्दै नेता दोङले भ्रष्टाचार नियन्त्रणलाई सरकारले आफ्नो प्राथमिकतामा राख्नु पर्ने बताए ।

पार्टी एकता इतिहासको आवश्यकता
नेता दोङले साबिक माओवादी र एमाले पार्टी बीचको एकता इतिहासको आवश्यकता भएको बताएका छन् । उनले प्रदेश र प्रतिनिधि सभाको चुनावी तालमेल पार्टी एकताको सुरुवात थियो भन्दै पार्टीलाई बैचारिक हिसाबले समायोजन गर्न निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले साबिक एमालेले भन्ने जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले भन्ने २१औं शताब्दीको जनबाद इतिहास भएको दाबी गर्दै भने, ‘बैचारिक हिबासले अलग-अलग पार्टी त्यसमा पनि एउटाले जबज भन्थ्यो, अर्कोले २१औं शताब्दीको जनबाद बोकेर हिँडिरहेको थियो । यी दुई शक्तिकेन्द्र बीच एकता अघि थुप्रै बहस भए । अब जबज र २१औं शताब्दीको जनवादको बैचारिक हतियार इतिहास भयो । किनभने, ‘राजतन्त्र’को स्थानमा ‘गणतन्त्र’ आयो । ‘हिन्दुराज्य’को स्थानमा ‘धर्मनिरपेक्ष राज्य’ भयो । ‘एकात्मक राज्य’को स्थानमा ‘संघीयता’ आयो । यस कोणबाट २१औं शताब्दीको जनवादले पहिलो चरण पार गरिसकेको छ ।’

बहुलीय जनवादभित्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी केही नरहेको भन्दै लालध्वजले भने, ‘बरु जबजभित्र सेरेमोनियल खालको राजा मानेर जान सकिने भन्ने रहेकाले जबजको बहस अनावश्यक देखिन्छ ।’ उनले अहिलेको पार्टीको कार्यनीति समृद्ध नेपाल, सुखी नेपाली र रणनीति समाजवाद भएकाले जबज र २१औं शताब्दीको जनवाद भन्दा माथि उठेर जनताको जनवादलाई समाएर समाजवादको बाटो तय गर्नु पर्ने बताए ।

पार्टी निर्णयलाई दृद्धतापूर्वक कार्यान्वयन गर्नु


यसैगरी बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष सोमबादुर थापाले अन्टुफ–जिफन्ट एकताको सन्दर्भमा नेतृत्वका सवालमा उठेको प्रश्नहरूको जवाफ दिँदै पार्टी निर्णयलाई दृद्धतापूर्वक कार्यान्वयन गरेर जानु पर्ने बताए ।

उनले अन्टुफ महासचिव जगत सिंखडालाई पार्टीले नवगठित ट्रेड युनियन महासंघको सहसंयोजकको जिम्मवारी दिएकाले र महासंघको जेठ ९ मा बसेको पदाधिकारी बैठकले सिम्खडालाई कार्यबाहक अध्यक्षमा सर्वसम्मत निर्णय गरिएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न सुझाए । साथै, उनले बैठकमा स्थानीय तह र वडासम्म रहेका महासंघ, पेशागत संगठन र सदस्यहरूको असार महिनाभित्र अध्यावधि गरी प्रदेश महासंघमा बुझाउनु पर्ने भन्दै न्यूनतम बेतन, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनबारे मजदुरलाई प्रशिक्षण चलाउन निर्देशन दिएका थिए ।

पूर्वउर्जा राज्यमन्त्री सूर्यमान दोङको प्रमुख आतिथ्य, अन्टुफ उपाध्यक्ष सोमबहादुर थापाको विशेष आतिथ्य साथै अन्टुफ प्रदेश ३ का उपाध्यक्ष होमबहादुर खड्का र यातायात मजदुरका उपाध्यक्ष जय केसीको आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता काभ्रे महासंघका इन्चार्ज होम बहादुर खुलालले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत