अछामका महिलालाई सेनिटरी प्याड उत्पादन तालिम

२२ असार ०७६, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ ।

छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम दिन लागिएको हो ।

नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्ययमशीलता समेत बनाउने छ । आइतबारदेखि सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागीले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्दै विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले २१ औं शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरु पीडित हुनु दुःखत विषय भएको धारणा राखिन् । आफुले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् –यही सामाजिक परिवेशको कारण मानसिक तथा शारीरिक ठूलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि म लगायत धेरैले विजय प्राप्त गरेका छौं । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।’

चलाउनेले पहिले पनि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा तालिमको उपलब्धिको कारण कयौं महिला यस समस्याबाट मुक्त मात्रै नभएर प्याड ब्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् ।

संवाद डबलीका सचिव धनन्जय बुढाले सञ्चार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे ।

सो तीन दिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरुलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हलमात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन् ।

समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथा विरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत