प्रहरीबाटै कुटिए सिन्धुलीका पत्रकार

२२ असार ०७६, काठमाडौं । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि निर्घात कुटपिट भएको छ ।

शनिबार राति करिब ९ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगरको शिवनगर खाजा घरमा खाना खान लाग्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा कार्की र दाहाल गम्भीर घाइते भएका हुन् ।

अध्यक्ष कार्की र पूवअध्यक्ष दाहालले खाजा खान बसेको स्थानमा सादा पोसाकमा आएका काभ्रे जिल्ला खावा गाउँपालिका ६ घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तानले कुटपिट गरेका थिए ।

कार्की र दाहाल खाना खाइरहेको अवस्थामा सादा पोशाकमा होटलमा प्रवेश गरेका प्रहरी हवल्दार लामा र प्रहरी जवान स्याङ्तानले एक्कासी भिडियो खिच्न थालेपछि अनावश्यक भिडियो नखिच्न आग्रह गर्दा एक्कासी हेलमेटले टाउकोमा प्रहार गर्दा अध्यक्ष कार्की बेहोस भएर ढलेकोे दाहालले बताए ।

गम्भीर घाइते कार्कीको टाउकोमा चोट लागेका कारण सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई रहेको छ भने दाहालको सिन्धुली अस्पतालमा उपचार गरिएको छ ।

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष र पूर्व अध्यक्षमाथि भएको निर्घात कुटपिटको विषयलाई लिएर सिन्धुलीका पत्रकार महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै पत्रकारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

घटनापछि कुटपिटमा संलग्न दुबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको प्रहरी प्रमुख चक्रबहादुर सिंघले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत