प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा

२८ असार ०७६, काठमाडौं । अविरल वर्षाका कारण प्रदेश २ को ८० प्रतिशत भू–भाग डुबानमा परेका छन्

सर्लाही सदरमुकाम मलङ्वासहित जिल्लाको एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेको छ । झिम नदीमा आएको बाढी मलङ्वामा पसेपछि शहरको पूर्वी भाग डुबानमा परेको हो । जिल्ला प्रशासन कार्यालय, दुरसचार कार्यालय , शसस्त्र बेसक्याम्प डुबानमा परेको छ ।
मलङ्वाभन्दा ५ किलोमिटर माथि बाँध फुटेर शहरमा पानी पस्दा घर र सडकमा पानी जमेको छ । सडकबाटै पानीको भेल बग्न थालेपछि मलङ्वा बास्केटबलको आउने र जाने सवारी साधन चल्न सकेको छैन । बाढीले सञ्चारमाध्यम, विद्युत सेवा अवरुद्ध बनेको छ । बजारपूर्ण रुपमा बन्द छ ।

झिम नदीको बाढीले भेल्ही त्रिभुवन नगर डुबानमा परेको छ । त्यसैगरी लखनदेही नदीको बाढीले खुटौना, भाडसर, शिवनगर, छपकहिया गाउँ डुबेको छ । मनुष्मारा खोलाको पानीले सिसौट, रामनगर, छतौना लगायतका स्थान डुबानमा परेको छ । बागमती नदीको बाढी बस्तीमा नपसे पनि नदीमा बढ्दै गरेको जलस्तरले नदी छेउको बस्तीमा त्रास फैलिएको छ ।

सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीको बाढीले वरिपरिको वस्तीमा जोखिम बढाउँदै गएको छ । नदीको बाँधमाथिबाट पानी गाउँगाउँमा पस्न थालेको छ । हजारौँ घर डुबानमा परेका छन् ।

शनिबार बिहानै बाढी मापन केन्द्रले कमला नदी धनुषा तितरीया बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएको छ । वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ । ‘आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’बाढी मापन केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

कमला नदीको बाढीले सिरहा नगरपालिका ६ र १२ का बसपिटा, सारश्वर गाउँमा ६ सयभन्दा बढी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । डुबानमा परेकालाई उद्धारमा सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयवासी खटेका छन् ।

यसैगरी कल्याणपुर नगरपालिका वडा १२ र ६ मा पनि कमला नदीको बाढी गाउँमा पस्न थालेको वडा अध्यक्ष मोतिबुल राइनले जानकारी गराए । ‘नदीमा बाढीको बहाव धेरै भएकोले बाँधको माथिबाट गाउँमा पानी आउन थालेको छ,’ उनले भने,‘सयौँ घर र हजारौँ बिघा जग्गा डुबानमा परेको छ ।’

गागन नदीको बाढीले दक्षिणवर्ती औरही गाउँपालिकामा केही घर डुबानमा परेको छ । बलान नदीले लहान नगरपालिका २३ र सखुवानन्कारकट्टि गाउँपालिकामा जग्गा कटान गरेको छ। डुबानमा परेकालाई उद्धार गर्न ठाउँठाउँमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरहामा १० स्थानीय तहका ४२ वटा वडा बाढीको अतिजोखिम र ५२ वटा वडा मध्यम जोखिममा रहेको छ । अतिजोखिम रहेका वडाहरु बढी कमला नदीले प्रभावित हुने गरेका छन् ।

सप्तरी जिल्लाका अधिकांस ठाउँ अबिरल वर्षाका कारण डुबानमा परेका छन् । विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन् ।

खड्ग खोलाको बाढीले बिसनपुर–स्वर्णपट्टी सडकमा क्षति पु¥याएको छ । खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ । यो सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो ।

बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् ।

हनुमाननगर–कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् ।

यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् । वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी–कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् ।

खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन् । यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन् ।

त्रियुगा खोलामा आएको बाढी वस्तीमा पसेको छ । उक्त बाढी सप्तकोसी नगरपालिका ३ स्थित दलित वस्तीमा पस्दा ३५ परिवार जोखिममा परेका छन् । सोही नगरपालिकाको वडा नम्बर ७ स्थित चौधरी बस्तीमा समेत बाढी पस्दा २५ परिवार जोखिममा छन् । यो नगरपालिकाको केन्द्र फत्तेपुर पनि डुबानमा परेको छ । फत्तेपुरस्थित त्रियुगा खोलाको हेडबाँध पारुहाङ चोक क्षेत्रका करिब सय घरमा बाढी पसेको छ ।

बलान र बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिका र बलान–बिहुल गाउँपालिकामा पानी पसेको छ ।

रौतहट अविरल वर्षाका कारण पूर्णरुपमा डुबानमा परेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ ।

बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् ।गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरेको छ ।

पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ । बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।

यसैगरी फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ ।

लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । बाढीले गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकासँग सम्पर्क विच्छेद भएको छ । सो नगरपालिकाका विभिन्न वडामा एक हजारभन्दा बढी व्यक्ति तत्काल उद्धारको पर्खाइमा छन् ।

बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगासहितका केही पौडीबाज जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन ।

दुर्गा भगवती गाउँपालिकाअन्तर्गत गौर–गंगापिपरा सडक खण्ड बाढीका कारण गएरातिदेखि नै अवरुद्ध छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सयभन्दा बढी घर डुवानमा परेका छन् ।

परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, ईशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढीमाई, वृन्दाबन, विजयपुर, कटहरियासहित गरुडा नगरपालिकाको सबैवडा, चन्द्रपुर नगरपालिकाका केही वडा पनि डुवानमा परेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत