बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३० असार ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरिद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ।

आयोगले उपकुलपति दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार रुपैयाँ, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार रुपैयाँ र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

त्यस्तै, बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले दुई करोड ३४ लाख ८१ हजार रुपैयाँ, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध एक करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध १ करोड ४ लाख १६ हजार, उमेशविरुद्ध ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत