आर्सेनिक र आईरनयुक्त पानी पिउदै आएका महादेवा गाउँका १ हजार ५ सय परिवार सो बाट मुक्त

१३ साउन ०७६, राजविराज । लामो समयदेखि आर्सेनिक र आईरनयुक्त पानी पिउदै आएका १ हजार ५ सय परिवारले अबदेखि शुद्धपानी पिउने भएका छन् ।

सदरमकाम राजविराजसँगै जोडिएको महादेवा गाउँका १ हजार ५ सय परिवारका लागि सेनाले १० हजार लिटर क्षमता भएको टयांकी, २ सय ४० फिट गहिरो डिप बोरिङ्ग तथा ३० फिट उचाईकोे आरसिसि ओभर हेड टयांकी घर निर्माणसँगै पाईप लाईनबाट स्वच्छ खानेपानीका लागि १३ वटा धारा जडान गरिदिएपछि शुद्ध खानेपानी लागि सधै सास्ती खेप्नुपर्ने स्थानिय हर्षित भएका हुन् ।

‘गाउँको कुनैपनि टोलमा धारा नहुँदा शुद्ध खानेपानी हाम्रो लागि सपना जस्तै भएको थियो, महादेवा गाउँ कि रामपरी देवीले भनिन् – आधा घण्टा हिडेर पोखरी र ट्युवेलको आर्सेनिक र आईरनयुक्त पानी पिउन बाध्य थिए । बल्ल शुद्ध पानी पिउने सपना साकार भएको छ ।’

गत कार्तिक १८ गते गाउँमै निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएका नेपाली सेनाको टोलीलाई शुद्ध पिउने पानीका लागि खानेपानी आयोजना ल्याउन आग्रह गरेको स्थानिय रामेश्वर मण्डलले बताए ।

गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले ‘आईरन र आर्सेनिकयुक्त पानीका कारण यहाँका बासिन्दा सेतो रंगको लुगा धुलाउँदा रातो र पहेलो हुने, खराब पानीकै कारण स्वास्थ्यमा विभिन्न खाले समस्या भइरहने महिना – डेढ महिनामा छाला सम्बन्धी समस्याबाट ग्रस्त भई सो को औषधी नखाने कुनै परिवार नहुने बताए । उनले भने– ‘स्वच्छ खानेपानीको प्रबन्ध नहुँदा गाउँपालिकाका सवै परिवार बर्षौ देखि आईरनको मात्रा अत्याधिक भएको पानी पिउन बाध्य थिए ।’

खराब पानीका कारण केही दिन अघिसम्म यहाँका बासिन्दाले उमालेर मात्र पानी पिउने गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष यादवले सेनाले निर्माण गरिदिएको खानेपानी आयोजनाले धाराको पानी सवै टोलमा पुर्याइदिएपछि त्यस्तो समस्याको अन्त्य भएको बताए ।

शुद्ध खानेपानीको व्यवस्था गर्न सेनाले आफ्नै लगानी र श्रमदानबाट ६५ दिनमै १० हजार लिटर क्षमताको आयोजना स्थापना र सवै टोलमा धारा जडान गरी एक साताअघि मात्र समुदायमा हस्तान्तरण गरेको थियो ।

अहिले जडान गरिएका १३ वटा धाराबाट घर–घरमा शुद्ध पानी पुगेको छ । २७ नं. बाहिनीपति सहायकरथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका प्राविधिक सहितको २५ सदस्यीय टोलीले लगातार ६५ दिन सम्म दिनरात काम गरेको भिमदलगणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए । उक्त आयोजनाको घेरावारा, भवन, डिप बोरिङ्ग, ओभर हेड टयांकी, धारा जडान लगायतका सवै निर्माण कार्य सेनाले गरेको उनले बताए । यद्यपि यस कार्यमा स्थानियले पनि निकै सहयोग गरेको उहाँको भनाई छ ।

‘स्वच्छ खानेपानीको प्रबन्ध नहुँदा यहाँका बासिन्दा वर्षौदेखि आईरनको मात्रा अत्यधिक भएको पानी पिउन बाध्य थिए, पानीकै कारण स्वास्थ्यमा समस्या देखिने गरिएको पाईएको थियो, प्रमुख सेनानी कुवरले भने ।’ यी समस्या प्रधानसेनापति महारथी पूर्ण चन्द्र थापा समक्ष राखेपछि उहाँकै पहलमा यो योजना ६५ दिनमै कार्यान्वयन गर्न सफल भयो ।

यसरी सेनाद्वारा निर्मित डिप बोरिङ्ग तथा खानेपानी आयोजनाको काम सकिएपछि प्राविधिकद्वारा स्वच्छताको परीक्षण गराई गत ५ साउनमा प्रमुख अतिथि मध्य पुर्वी पृतनाका पृतनापति उपरथी नरेशचन्द्र भट्टद्वारा उद्घाटन गरी समुदायमा हस्तान्तरण गरिएको थियो ।

सेनाको ३५ लाख बजेटबाटै सो गाउँका ५ सय विपन्न परिवारलाई एक–एक थान झुल उपलब्ध गराउनुका साथै भुकम्पले भत्काएको महादेवा गाउँपालिका २ स्थित आधारभूत विद्यालयको ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरिदिएको भिमदलगणका गणपति एवम प्रमुख सेनानी कुवरले जानकारी दिए ।

सेनाको यस्तो कार्यले जनता र नेपाली सेनाबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने काम गरेको स्थानियको भनाई छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत