गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्छ – रावल

२८ साउन ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले गोर्खा भर्ती केन्द्र बन्द गर्नु पर्ने पनि बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेता रावलले राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न गोर्खा भर्ती केन्द्र बन्द गर्नु पर्ने बताएका हुन् ।

नेता रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सामु ऐतिहासिक अवसर रहेको भन्दै यो समयलाई पार्टीको पूर्वघोषित नीति र कार्यक्रमअनुसार देश र जनताको हितमा अधिकतम् उपयोग गर्नुपर्ने बताए ।

सरकारले देशलाई असमान सन्धिबाट मुक्त गर्न कुटनीतिक र राजनीतिक कदम चाल्नुपर्ने बताउँदै नेता रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कर र भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राख्न नहुने पनि बताए ।

उनले भने, ‘संवेदनशील तथ्यांकको अभिलेख नेपालमा र नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गर्नुपर्छ ।’

माथिल्लो कर्णालीको सम्झौता कुनै हालतमा नवीकरण गर्न नहुने भन्दै उनले यसले देशलाई क्षति पु¥याउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत