गृहमन्त्री बादल र बंगलादेशी राज्यमन्त्री रहमानबीच भेटवार्ता

१९ भदौ ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन् ।

बिहीबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए ।

गृहमन्त्री थापाले नेपालमा वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उहाँमार्फत त्यहाँको सरकारलाई धन्यवाद दिएका छन् ।

उनले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी दिए ।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे ।

उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिए ।

विश्व खाद्य कार्यक्रम बंगलादेशका देशीय निर्देशक रिचार्ड रेगनसमेत सहभागी भ्रमण दलले नेपालमा मानवीय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताईएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत