मेलम्चीमा प्रहरी र आन्दोलनकारीबीच झडप, दुई जना घाइते

१९ भदौ ०७६, काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

सिन्धुपाल्चोकस्थित मेलम्चीको अम्बास्थानमा आन्दोलनरत आपुर्तिकर्ता र मजदुरले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

भीडलाई नियन्त्रणमा लिन आन्दोलनकारीमाथि केही रायण्ड हजाई फायरका साथै एक दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेको र त्यही समयमा प्रहरीले आफूहरुमाथि गोली चलाएको मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन् ।

मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला, लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।

भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आयोजना छाडेको निर्माण कम्पनी सीएमसीले दिनुपर्ने रकम भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेर आन्दोलन थालेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत