तातोपानीले जलेकी घाइते चेपाङ बालिकाको उपचारमा आर्थिक समस्या

३० भदौ ०७६, कास्की । तातोपानीले जलेर सख्त घाइते भएकी चार वर्षीया निर्मला चेपाङको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका युवा नेता शंकर रानाभाटको सक्रियतामा गण्डकी अस्पताल लगेर उपचार सुरु गरिएको हो ।

दमौली अस्पतालमा उपलब्ध औषधिको भरमा अस्पतालमै बेडरेस्ट गरिरहेकी बालिकाबारे एक अनलाइनमा प्रकाशित समाचार पढिसकेपछि थप उपचारका लागि बालिकालाई गण्डकी अस्पताल झिकाएको रानाभाटले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

‘बेलुका अन्दाजी ६ः३० बजे गण्डकी हस्पिटल ल्याई मेरो पहलमा भर्ना गरियो ! सबै चेक जाँच गराई भोलिसम्म चाहिने औषधिहरू किनी भोलि पुनः हस्पिटल आउने र अझ सक्दो सहयोग गर्ने बाचासहित अहिले राती १०ः३० मा पीडित परिवारसँग बिदा लिई घर फर्किएँ’ भनेर रानाभाटलले फेसबुक वालमा लेखेका छन् ।

उनले भनेका छन्, ‘सहयोगी मनहरूलाई घाइते बच्चा निर्मला चेपाङको सर्जिकल वार्डका ४४ नम्बर बेडमा उपचार भइरहेको जानकारी गराउदछु ।’

चार बर्षीया निर्मला चेपाङको दिदीबहिनी खेलिरहेको बेला तातो पानी पोखिएर दाहिना पिठ्युँमा जलेको थियो । चार दिनदेखि दमौली अस्पतालमा उपचाररत् उनलाई आइतबार मात्रै गण्डकी अस्पताल लगिएको हो ।

चितवन घर भई हाल तनहुँको व्यास ११ मा मजदुरी गर्दै आइरहेका उनका बाबु गणेशमान चेपाङ र आमा धनमाया चेपाङ्ले छोरीलाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

बालिकाको बुबा गणेशमान चेपाङ इट्टा भट्टामा मजदुरी गर्दछन् । श्रीमानको तलबले ६ जनाको परिवार पाल्न सकस भइरहेका बेला भएको यो घटनाले छोरीको थप उपचार गर्न समस्यापरेको बालिकाकी आमा धनमाया चेपाङ्ले दुखेसो पोखिन् ।

उनले छोरीको उपचारमा सहयोग गर्न चाहनेले आफ्नो मोबाइल नम्बर ९८२६१३११२४ मा सम्पर्क गर्न समेत आग्रह गरेकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत