१० असोज ०७६, बैतडी । शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् ।
बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो ।
सडक बन्ला भन्ने नसोचेका स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले गाडी गुडेको देख्दा निकै खुशी लागेको बताए ।
पहिलोपटक म १ ज २७२ नं.को जिप लिएर पिपलकोटमा पुगेका चालक वीरेन्द्र महतालाई स्थानीयले सम्मान गरेका थिए ।
उक्त गाउँपालिकाको वडा नं ४ मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न, खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने भएको छ ।
यसअघि गाउँपालिका केन्द्रसम्म पुग्न दुई घण्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मदन साउदले बताए । उक्त सडक गाउँपालिका र जनश्रमदान गरी करिब ३७ लाख रुपैयाँको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष कर्णसिं साउदले जानकारी दिए ।