लिगलिगे दौडको उपाधि अनिषले हात पार्न सफल

१६ असोज ०७६, काठमाडौं । गोरखामा भएको दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पार्न सफल भएका छन् ।

बिहीबार मस्र्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पार गरेर थापा प्रथम भएका हुन् । दौड जितेसँगै उनले ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् ।

उनलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गर्नुका साथै एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ ।
उनी यो लिगलिगे दौडमा प्रथम भएको चौंथो पटक हो । यसअघि २०७१, ०७३ र ०७५ मा पनि उनी पहिलो भएका थिए ।

त्यस्तै, नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दुरी द्वितीय १ घण्टा १ मिनेट ८ सेकेन्डमा पार गरी दोस्रो स्थान हात पार्न सफल भएका छन् भने रामजी बस्नेतले सोही दुरी १ घण्टा १ मिनेट ३४ सेकेन्डमा पार गरी तृतीय स्थान हात पार्न सफल भएका छन् ।

द्वितीय हुने भाटले ३५ हजार एक सय र तृतीय बस्नेतले २५ हजार एक सय नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा गरिएको प्रतियोगितामा १६६ जना सहभागी थिए । प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५÷५ लाख रकम सहयोग प्राप्त भएको थियो ।

प्रतियोगितामा सहभागी दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत