१९ असोज ०७६, काठमाडौं । नेपाल प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
प्रहरीले महरालाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।
महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकमा प्रहरीहरु खटिएका थिए ।
सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर महरा आफैैंले प्रयोग गर्ने गरेको बा १८ च ४०० नम्बरको निजी गाडीमा गए ।
प्रहरी स्रोतले अब उनलाई महानगरीय प्रहरी वृत्त सिंहरबारमा राखेर अनुसन्धान गरिने बताएको छ ।
महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अनुमति दिएलगतै प्रहरी सभामुख निवासमा पुगेको थियो ।
सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।