कैलालीमा मनाइयो विश्व दृष्टि दिवस

२३ असोज ०७६, कैलाली । आज अक्टोवर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस । अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइँदैछ ।

नेपाल नेत्रज्योति संघले कैलालीको पनि धनगढीमा विश्व दृष्टि दिवस मनाएको छ ।

संघले ‘भिजन फस्र्ट’ भन्ने मूल नाराका साथ बिहीबार विश्व दृष्टि दिवस मनाएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उक्त कार्यक्रमकाो संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आँखा शरीरको संवेदनशील अङ्ग भएका कारण यसको सुरक्षा, सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले खानपान र जीवनशैलीका कारण पनि आँखाको ज्योति गुम्ने खतरा भएका त्यसतर्फ ध्यान दिन सुझाए ।

यसैगरी धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकालाई मोतिया बिन्दुरहित नगर बनाउन आफू लागि परेको बताए ।

उनले धनगढी नेत्रालयसँग समन्वय गरी अहिलेसम्म ९ स्थानमा आँखा शिविर सञ्चालन गरी ८ हजार ५ सय ५५ जनाको आँखा परीक्षण गरिनुका साथै २ हजार ६ सय ८१ जनालाई निःशुल्क रुपमा चश्मा वितरण गरिएको पनि बताए ।

यस्तै वडले १ हजार १४ जनाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको बताए ।

विश्व स्वास्थ्य संगठन र आईएपीवीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्युनकीरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० : राइट टु साइटको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवालाई जोड दिँदै प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत