पूर्वराजालाई पद चाहिए पार्टी खोलेर चुनाव लडे हुन्छ – डा. बाबुराम भट्टराई

३० असोज ०७६, गोरखा । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

बिहीबार दशैं, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा गोरखाको सदरमुकाममा पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराई यस्तो बताएका हुन् ।

‘जनताले चुनाव जिताए भने देश चलाए हुन्छ, हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ भट्टराईले अगाडि भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाई पनि उठाए हुन्छ ।’

जातीय र वंशीय आधारमा देश चलाउने दिन समाप्त भएको बताउँदै उनले भने, ‘राजतन्त्र आवश्यक छैन् भनेर गणतन्त्र ल्याएका हौं, कुनै हालतमा राजतन्त्र आउँदैन । हामी अब गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं ।’

दशैंमा टिका लगाउन आए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको बताउँदै भट्टराईले भने, ‘चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलिपर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्रीसँग पनि लगाउँछन्, त्यो ठूलो कुरा होइन ।’

लोकतान्त्रिक गणतन्त्र पश्चात् मुलुक विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरेको र एजेण्डा समेत फेरिएको बताउँदै उनले गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न दलहरु बीच एकता आवश्यक रहेको पनि बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत