मोटा धानको मूल्य प्रति-क्विन्टल २ हजार ५३२ रुपैयाँ ८० पैसा

अपराधीकरण र भ्रष्टीकरणका दोषीमाथि कानुनअनुसार कारवाही हुने

७ कार्तिक ०७६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले राजनीतिमा हुने अपराधीकरण र भ्रष्टीकरणलाई कसैले प्रोत्साहित गर्न नहुने बताएका छन् ।

बिहीबार नेपाल सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

सुशासन र कानुनको पालना गराउने कार्यमा सरकार अगाडि बढेको बताउँदै मन्त्री बास्कोटाले अपराधीकरण र भ्रष्टीकरणका दोषीमाथि कानुनअनुसार कारवाही हुने बताए ।

‘राजनीतिमा हुने अपराधीकरण र भ्रष्टीकरणलाई राज्यले प्रोत्साहित गर्न सक्दैन, त्यस्ताले पाउने दण्ड, सँजाय नै हो’ उनले भने, ‘दोषीहरु कानुनभित्रै आउनु पर्छ ।’

पूर्वसभामुख कृष्णबहादुर महरामाथि भइरहेको अनुसन्धान बारे पत्रकारको जिज्ञासामा सञ्चारमन्त्रीले भने, ‘अनुसन्धान र छानबिनले जे टुङ्गो लगाउँछ, त्यही हुन्छ ।’

मोटा धानको मूल्य प्रति-क्विन्टल २ हजार ५३२ रुपैयाँ ८० पैसा

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को लागि प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम धानको मूल्य दुई हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाभित्रका विभिन्न १५ वटा रुटमा तार व्यवस्थापन सम्बन्धी कार्य गराउन नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ ।

यस्तै, सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) नियमावली, २०७६ एवं डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ ।

बैठकले माराकेश सन्धि, २०१३ अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ भने मालपोत नियमावली, २०३६ को नियम ५ ख (१) को समितिले गरेको न्यूनतम मूल्याङ्कन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिनुका साथै गैरकरका दरहरु पुनरावलोकन स्वीकृत लगायतका निर्णयहरू गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत