विद्यार्थीले जलाए भारतीय नयाँ नक्सा : कुटनीतिक माध्यमबाट टुंग्याउनु पर्नेमा सरकारको जोड

२० कार्तिक ०७६, काठमाडौं । परराष्ट्र मन्त्रालयले हालै भारत सरकारले प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा मान्य नहुने भएको बताएको छ ।

कालापानी नेपालको भूभाग भएको भन्दै परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गरी एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय मान्य नहुने बताएको  हो ।

सरकारले विज्ञप्तिमा नेपाल–भारत सीमासम्बन्धी विवाद दुबै पक्षको आपसी सहमति, ऐतिहासिक दस्ताबेज साथै तथ्य प्रमाणहरुका आधारमा कुटनीतिक माध्यमबाट टुंग्याउन जोड दिएको छ ।

विद्यार्थी संगठनले जलाए नयाँ नक्सा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि समावेश गरेपछि नयाँ नक्सा जलाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी म्याग्दीले बुधबार साँझ सदरमुकाम बेनीमा विरोध सभाको आयोजना गरी भारतको नयाँ नक्सा जलाएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नै भूमि रहेको जनाएपछि उक्त नक्सा सच्याउन माग गर्दै विद्यार्थी संगठनले विरोध गरेका हुन् ।

विद्यार्थीहरूले “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो” भन्ने व्यानरसहितको विरोध कार्यक्रममा भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक इण्डिया, मिचिएको हाम्रो भूमिफिर्ता गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी र प्रदर्शन गरेका थिए ।

यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि भारतले जारी गरेको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ ।


नेविसंघले काठमाडौं विरोध प्रर्दशन गर्दै लिपुलेक हाम्रो हो, विदेशी हस्तक्षेप मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, भारतले सीमा मिच्ने, केपी ओली टुलुटुलु हेर्ने लगायतका चर्का नाराबाजी गरेका थिए ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले पनि विरोध जनाउँदै आइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत