भारतसँग तत्काल सम्वाद गर्न सर्वपक्षीय बैठकमा सहभागी नेताहरूको सुझाव

२३ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरूले भारतसँग तत्काल सम्वाद गर्न सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वपक्षीय बैठकका सभागीहरूले भारतले हालसालै जारी गरेको नक्सामा घुसाइएको कालापानी, लिपुलेक र लिम्पयाधुरालाई नेपालको भएकाले तत्काल भारतसँग सम्वाद गर्न सुझाएका हुन् ।

नेपाल सरकारले लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताए पनि भारतले नेपाली भूमि मिचेका छैनौं भन्दै स्पष्टीकरण दिएपछि आज बालुवाटारमा सर्वपक्षीय बैठक बसेको हो ।

बैठकमा सहभागी एक नेताले छलफलको संक्षिप्त जानकारी दिँदै सरकारले लिएको अडान सही भएको बताए । सरकारले वक्तव्य मात्र जारी गरेर नपुग्ने भएकाले भारतले किन यस्तो गर्यो भनेर नेपाल सरकारले भारतसँग सोध्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए ।

ती नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा कालापानी लगायतका भूमि नेपालको भएको धारणा राखेका थिए ।

काँग्रेस सभापति देउवाको भनाई उदृत गर्दै उनले भने, ‘महाकाली नदी पूर्वका हाम्रा सबै भूभाव फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लगि हाम्रो पूर्ण साथ रहनेछ ।’

भारतले हालै प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक लिम्पियाधुरालाई घुसाएपछि त्यसको देशव्यापी विरोध, प्रदर्शन भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत