कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्रीको आग्रह

२ मंसिर ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले युवा संघ नेपालको आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भारतले हालसालै जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

प्रधानमन्त्री ओलीले दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेकोप्रति असन्तुष्टि जनाउँदै कूटनीतिक सम्वादबाट मात्र समस्या समाधान हुने भएकाले उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं ।’

कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएको भन्दै उनले भने, ‘नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’

संसदको राज्य व्यवस्था समितिले नै लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत