गोरखाको बारपाकमा नवनिर्मित प्रहरी चौकीको उद्घाटन

१० मंसिर ०७६, गोरखा । गोरखा बारपाक सुलिकोट गाउँपालिका–१ मा नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रममा बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेल उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले कुनै पनि प्रहरी कार्यालय आम नागरिकको आस्था र भरोसाको केन्द्र समेत भएको उल्लेख गर्दै नेपाल प्रहरीप्रति आम नागरिकको विश्वास एवम् भरोसा अनुरुप सांगठनिक शुद्धिकरण र सुदृढिकरण गर्दै थप परिष्कृत एवम् जनलक्षित प्रहरी सेवा प्रवाह गर्दै आइरहेको बताए ।

समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सबै निकायहरुको भूमिका समेट्ने हेतूले लागू गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको मुल मर्म अनुरुप नै सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भट्टले गाउँस्तरमा उक्त सुविधा सम्पन्न प्रहरी भवनको निर्माण हुनु सबैका लागि गर्वको विषय भएको बताउँदै प्रहरी सफल भएमात्रै समाज सुदृढ र समुन्नत हुने हुँदा सबैले प्रहरीप्रति आत्मियता देखाउनुपर्ने बताए

नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनःनिर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनःनिर्माण प्राधिकरण कोषबीच सम्झौता भई कुल १ करोड ४५ लाख ५२ हजार ९ सय ८७ रुपैयाँ २९ पैसाको लागतमा उक्त चौकीको कार्यालय तथा व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको छ ।

  •  
  •  
  •  
  •  
  •