सांस्कृतिक संरक्षण र दाइजो प्रथा उन्मूलन गर्न सामूहिक विवाह

दीपेन्द्रप्रसाद सिंह
१३ मंसिर ०७६, काठमाडौं । धार्मिक तथा सांस्कृतिक संरक्षण र दाइजो प्रथालाई उन्मूलन गर्न ‘सामूहिक विवाह’ कार्यक्रम आयोजना गरिएको छ ।

मंसिर १६ गते रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ‘सामूहिक विवाह’ कार्यक्रम आयोजना गरिने भएको हो ।

हिन्दू परम्पराअनुसार त्रेतायुगमा भगवान राम र माता सीताले गरेको वैवाहिक संस्कारलाई निरन्तरता दिन विवाहपञ्चमीकै भोलिपल्ट सामूहिक विवाह कार्यक्रम राखिएको आयोजक पक्षले जनाएको छ ।

सीताराम विवाह मणिमण्डप विकास समितिले कम्तीमा १ सय ८ जनाको एकै ठाउँमा विवाह गर्ने लक्ष्यका साथ कार्यक्रम राखिएको बताएको छ ।

समितिका उपाध्यक्ष रामशिष दासले विवाह गर्ने जोडीलाई साडी, ब्लाउज, पेटिकोट, रुमाल, तौलिया, प्यान्ट, सर्ट र बनियान दिइनेछ । त्यस्तै, पाँच लिटरको कुकर, तावा, परात, लोटा, चिमटा, भगोने, करछुन, पलटालगायतका भाँडावर्तन पनि प्रदान गरिनेछ ।

शृंगार बक्स, छाता, टर्च, ब्याग, मच्छरदानी पनि दिइने उपाध्यक्ष दासले जानकारी दिए । उनले भने, ‘कम्तीमा १०८ वेदी निर्माण हुनेछ । बेहुलाबेहुली पक्षले पुरोहित ल्याउन नसकेमा पुरोहित पनि उपलब्ध गराउने छौं ।’

उपाध्यक्ष दासका अनुसार अहिलेसम्म ४४ जोडी सम्पर्कमा आइसकेको र अझै आउने क्रम जारी छ ।

सामूहिक विवाहलाई व्यवस्थित पार्नका लागि तीनवटा उपसमिति गठन गरिएको छ । उपसमितिमा सुरक्षा, अनुगमन र भोजन गठन भएको उपाध्यक्ष दासले पत्रकार सम्मेलनमा बताएका छन् ।

माटो पुर्ने कार्य र पण्डाल निर्माणको जिम्मा बृहत्तर जनकपुर क्षेत्र परिषद र दुलाहा दुलहीलाई दिइने सामान विश्व हिन्दू परिषद् नेपालले व्यवस्था गर्नेछ ।

जनकपुरधामलाई धार्मिक दृष्टिले विकास गर्ने लक्ष्यका साथ पहिलो पटक आरम्भ गर्न लागिएको सामूहिक विवाहमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको समितिका अध्यक्ष नारायण राउतले बताए ।

वैवाहिक कार्यक्रमका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ दिने अश्वासन दिएको छ । कार्यक्रममा करिब ५० लाख रुपैयाँ खर्च हुने समितिको अनुमान छ ।

  •  
  •  
  •  
  •  
  •