अनिता देवी आत्माहत्याको कारण मारुती सिमेन्टको ज्यादती !

२५ मंसिर ०७६, सिराहा । मारुती सिमेन्टको ज्यादतीले अखिल नेपाल औद्योगिक मजदुर संघकी सदस्य अनिता देवी पासवानले आत्माहत्या गरेको भन्दै अन्टुफ प्रदेश २ ले आपत्ति जनाएको छ ।

जायज माग राखेकी पासवानलाई सिराहास्थित मारुती सिमेन्ट कम्पनीले बिना कसुर स्पष्टीकरण लिई कामबाट निष्काशन गरेपछि उनले आत्महत्या गरेको भन्दै मजदुरहरू आन्दोलित भएका हुन् ।

मारुती सिमेन्ट प्रशासनले मंगलबार पासवानलाई कारखानाको परिसरबाट हटाउन प्रहरीको बल प्रयोग गर्दै अपमान गरेको र अपमान सहन नसकी उनले नजिकैको सिसौको रुखमा आफ्नै सारीको पासो लगाई आत्माहत्या गरेको प्रारम्भिक अनुमान छ ।

यो घटना आत्महत्या नभएर आत्महत्या दुरुत्साहन भएको भन्दै अन्टुफ प्रदेश नं. २ ले उक्त सिमेन्ट कम्पनीलाई कारवाही गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने जनाएको छ । मृतक अनिता देवीलाई पोष्टमार्टमका लागि लाहान अस्पतालमा राखिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुरहरुका जायज माग पूरा नगरेर दुखद घटना घटाउने मारुती सिमेन्ट व्यवस्थापन पक्षप्रति उच्चस्तरीय छानबिन समिति गठन गरी निष्पक्ष छानबिन, अपराधीलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने साथै मृतकको परिवारजनलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएको छ ।

सिराहा जिल्लास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरुलाई उपलब्ध गराइरहेको चिया, तेल, मिठा लगायतका सेवा सुबिधा कटौती भएपछि मजदुरहरुले सो विषयमा असहमति जनाउँदै छलफल गरिरहेका थिए ।

यसैबीच सिमेन्ट प्रशासनले श्रम ऐन २०७४ को दफा १३१ को उपदफा ४(क) विपरीत खराब आचरणमा प्रत्यक्ष संलग्न भएको भनी पासवानलाई सेवाबाट हटाएको पत्र थमाइएको थियो ।

मारुती सिमेन्टले श्रमिक अनिता देवी पासवानलाई २०७६ मंसिर २३ गते सेवाबाट हटाएको पत्र ।

मारुती सिमेन्ट प्रशासनले त्यहाँ कार्यरत ५ जना मजदुरहरुलाई स्पष्टीकरण मागेको थियो भने ती मध्ये २ जनालाई १ महिनाको लागि निलम्बन गरिएको थियो । आत्माहत्या गर्न बाध्य पारिएकी महिला मजदुर अनिता पासवानलाई भने प्रतिष्ठानको सेवाबाट निश्कासन नै गरिएको थियो ।

स्रोतकाअनुसार मंसिर ६ गते श्रम ऐनको दफा १३१ को ४ (क) अनुसार कुनै किसिमको कार्य भएको थिएन । तर मारुती सिमेन्ट व्यवस्थापनले त्यही दफालाई टेकेर कारवाही ग¥यो । हिजो मंगलबार मंसिर २४ गते अनिता पासवान प्रतिष्ठान परिसरभित्र प्रवेश गर्न खोज्दा व्यवस्थापनले महिला प्रहरी लगाई दुव्र्यवहार गरी बलपूर्वक बाहिर निकालिदिएको थियो ।

सिमेन्ट कम्पनीले गरेको कारवाही, प्रताडना र ज्यादती सहन नसकेर अनिताले फ्याक्ट्रीको पूर्वपट्टि रहेको रुखमा आत्महत्या गरेको मजदुरहरूकाे अाराेप छ ।

मृतक अनिता पासवान अखिल नेपाल औद्योगिक मजदुर संघ ईकाई कमिटीको सदस्य भएको अन्टुफ प्रदेश २ का सचिव केदार देवले जानकारी दिए ।

अन्टुफ प्रदेश नं. दुई, अन्टुफ सिराहा र अखिल नेपाल औद्योगिक मजदुर संघ मारुती कारखाना इकाईले आज अपरान्हदेखि दोषीलाई कारवाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति, र कारवाहीमा पारिएका मजदुरहरुलाई तत्काल काममा फिर्ता नगरिए आन्दोलनमा जाने बताएको छ ।

व्यवस्थापनले तीनवटा गल्ती गरेको ट्रेड युनियनकर्मीहरूको दावी छ । पहिलो मजदुरकै श्रमबाट कारखानाले राम्रो नाफा कमाइरहेको अवस्थामा खाईपाई आएको सुविधा कटौती गरेको छ । दोस्रो छलफलमा बसिरहेका मजदुरका प्रतिनिधिहरुलाई व्यवस्थापन पक्षले मजदुरलाई फुटाउन तीन प्रकारको कारवाही गरेको छ । तेस्रो मृतक अनिता पासवानलाई कुनै कानुनी उपचारको मौका दिएको छैन् भने कम्पनी परिसरमा प्रहरीको दुरुपयोग गरी बल प्रयोगसहित बेइज्जत गर्दै कारखाना परिसरबाट निकालिएको छ ।

यस घटनाले आम मजदुरहरुलाई आक्रोशित बनाएको र व्यवस्थापनले न्यायोचित निर्णय नलिए सशक्त आन्दोलनको सामना गर्न व्यवस्थापन पक्षलाई अन्टुफ प्रदेश २ का अध्यक्ष अर्जुन चिमरियाले चुनौती दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •