महादेवा गाउँपालिकाका वडा सचिव २ लाख घुससहित पक्राउ

सप्तरी । दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् ।

मंगलबार साँझ ५ बजेतिर जन्म दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन ।

राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटेको टोलीले रंगेहात पक्राउ गरेको हो ।

मिश्रलाई थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय ल्याइएको आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •