धनुषा जिल्लाका निजी शैक्षिक संस्था बन्द !

२९ मंसिर ०७६, धनुषा । बम बिस्फोटमा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै धनुषा जिल्लाका निजी विद्यालय र क्याम्पसहरू बन्द भएका छन् ।

संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा आइतबार धनुषाका नीजि विद्यालय र क्याम्पसहरू बन्द गरिएको हो ।

समितिका संयोजक चन्द्रनारायण मण्डलले बिस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

शनिबार बिहान क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा अज्ञात समूहले राखेको बम विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।

घटना कसले घटायो भन्ने खुलिसकेको छैन् तर प्रहरीले उक्त घटनाको आशंकामा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ३ जना कार्यकर्ता पक्राउ गरेको छ ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय भन्दा केहीपर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घर शौचालय अगाडी राखिएको बम प्रहरी निरीक्षकसहितको टोली एकिन गर्न पुगेको बेला बिस्फोट भएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले धनुषामा भएको बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरि छाड्ने बताएका छन् ।

गृहमन्त्री थापाले उक्त घटना आततायी भएको भन्दै घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •