पूर्वसभामुख महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन आदेश

३ पुस ०७६, काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन आदेश गर्दै थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ ।

संसद सचिवालयको एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महरा ५ मंसिरमा पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । तर मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ ।

उपलब्ध प्रमाणका आधारमा प्रतिवादी कसूरदार होइनन् भनी भन्न सकिने अवस्था नरहेको उच्च अदालतको आदेशमा उल्लेख छ । साथै, मुलुकी फौजदारी कार्यविधि नियमावलीअनुसार मुद्दा एक महिनाभित्र किनारा लगाउनु भन्ने आदेश दिएको छ ।

‘मुलुकी कार्यविधि संहिता, २०७४ दफा १३१ बमोजिम एक महिनाभित्र प्रस्तुत मुद्दाको कारबाही र किनारा गर्नुहोला’ आदेशमा भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •