प्रतिनिधि सभाको पाँचौं अधिवेशनको सुरु

४ पुस ०७६, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधि सभाको पाँचौं अधिवेशनको सुरुवात गरेकी छन् ।

सभामुखले अधिवेशनको सुरुवात गर्ने, सभामुख नभए संसदका जेष्ठ सदस्यले अध्यक्षता गर्ने परम्परा रहिआएकोमा शुक्रबार उपसभामुख तुम्बाहाम्फेले अधिवेशनको सुरुवात गर्ने अवसर पाइन् ।

प्रतिनिधिसभा नियमावलीलाई देखाउँदै कतिपयले अध्यक्षता गर्न नसक्ने बताए पनि शुक्रबार बैठक सुरु हुने समयसम्म पुग्दा विपक्षी दल काँग्रेस समेत सत्तापक्षसँग सहमत भयो ।

संविधानको धारा ९१ (४) मा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख छ भने प्रतिनिधिसभा नियमावली २०७५ मा भने संसद बैठकको सुरुवात र अन्त्य सभामुखले गर्ने उल्लेख छ ।

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले संविधानमै सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख भएको भन्दै उपसभामुखलाई अध्यक्षता गर्न दिने सहमति गरेपछि विवादको अन्त्य भएको थियो ।

  •  
  •  
  •  
  •  
  •