चिसो अत्यधिक बढेसँगै सप्तरीका केही विद्यालयहरू बन्द

५ पुस, सप्तरी । चिसो अत्यधिक बढेसँगै सप्तरीका तीन स्थानीय तहका विद्यालयहरू बन्द भएका छन् ।

अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केही दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

जाडोका कारण राजविराजले पुस ६ गते आइतबारदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख शम्भु यादवले शैक्षिक क्यालेण्डरमा जाडो विदाका लागि छुट्टयाइएको ६ दिन मध्ये तीन दिन विदा दिने निर्णय गरिएको बताए ।

सप्तकोशी नगरपालिकाकाले पाँच दिनका लागि नगरभित्रका विद्यालयहरुमा विदा दिइसकेको छ भने तिलाठी कोइलाडी गाउँपालिकाले जाडोका कारण बिहीबार र शुक्रबार विद्यालयहरुमा विदा दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •