सरकारबाट बाहिरियो समाजपार्टी पार्टी

८ पुष ०७६, काठमाडौं । सत्तासाझदोर दल समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट मंगलबार राजीनामा दिएर समर्थन फिर्ता लिएका हुन् ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा भनिएको छ –‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

त्यसैगरी सहरी विकासमन्त्री राईले सहकार्य गर्ने अवसर दिएकोप्रति सरकारलाई धन्यवाद दिँदै भनेका छन्– ‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा राईले लेखेका छन्, ‘सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’

  •  
  •  
  •  
  •  
  •