शर्मालाई साधारण सदस्यता नरहने गरी संगठनबाट कारवाही

१० पुस ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघले उक्त संगठनको केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्मालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निस्काशन कारवाही गरेको छ ।

शर्माले पदीय दुरुपयोग गरी आर्थिक हिनामिना गरेकाले संगठनको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको संघका केन्द्रीय अध्यक्ष सोम तामाङले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“विभिन्न जिम्मेवारीमा रहँदा आर्थिक हिनामिना गरेको, पदीय हैसियत दुरुपयोग गर्दै संगठनलाई दाउमा राखी आर्थिक लेनदेन गरेको, अनुशासनमा नरही सांगठनिक अराजकता पैदा गरेको र संगठन विरोधी गतिविधिमा संलग्न रहेकोले पटक पटक सांगठनिक नैसियत प्रदान गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठन नामको संगठनको सदस्यता लिएको पुष्टि हुन आएकाले संगठनको विधानको भाग ६ को धारा १२ बमोजिम निज राजेन्द्र शर्मा र उक्त संगठनको सदस्यता लिएका अन्य केही व्यक्तिलाई समेत संगठनको साधारण सदस्य समेत नरहने गरी आजैका मितिबाट निस्काशन गरिएको व्यहोरा जानकारी गराइन्छ ।”

यस्तै अध्यक्ष तामाङले अखिल नेपाल ट्रेड यूनियन महासंघलाई बिहीबार नै पत्राचार गरी नीज शर्माले आफ्नै नेतृत्वमा यातायातसँग सम्बन्धित संगठन दर्ता गरेको पुष्टि भएको भन्दै महासंघको कुनै जिम्मेवारीमा भए तत्काल कारवाही गर्न सिफारिस समेत गरेको छ ।

  •  
  •  
  •  
  •  
  •