सप्तरीको राजगढ गाउँपालिकामा तालाबन्दी

सप्तरी । जिल्लाको राजगढ गाउँपालिकामा मनपरी तथा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले बुधबार तालाबन्दी गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा निर्वाचित परमानन्द यादवले मनपरी ढंगले काम गर्ने गरेको तथा पूर्वजानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनितिक दलका स्थानीय नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन ।

६ वडा रहेको सो गाउँपालिकामा वडा नं. २ का वाडध्यक्ष ललित सिंह, वडा नं. ४ का अध्यक्ष हेम नारायण साह वडा नं. ६ का वडाध्यक्ष कमल देव यादवका साथै राजपा, समाजवादी पार्टी र नेकपाका स्थानीय नेता कार्यकर्ताहरु मिलेर तालाबन्दी गरेका हुन् ।

उनीहरुले गाउँपालिका प्रमुख यादवले मनपरी र गोप्य ढंगले काम गर्ने गरेको, विकास निर्माणको विभिन्न कार्यमा अनियमितता गरेको आरोप लगाउँदै तालाबन्दी गरीएको बताएका छन् ।

एक साता अघि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पनि आर्थिक अनियमितता भएको भन्दै एक पक्षले तालाबन्दी गरेका थिए । त्यो तालाबन्दी अझै खुलेको छैन ।

त्यस्तै ७ महिना अघि सदरमुकाम राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि आर्थिक अनियमितता भएको भन्दै पदाधिकारीहरुकै एक समूहद्वारा तालाबन्दी गरिएको थियो । त्यहाँ गरिएको तालाबन्दी खुलाउन आजसम्म कुनै निकायबाट सकारात्मक पहल नहुँदा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन् । जसकारण कार्यालयबाट प्रवाह हुने सेवा र दैनिकी कामकाज लामो समयदेखि ठप्प छ ।

आफनो असन्तुष्टिको विषयलाई लिएर विकल्प नखोजी सोझै तालाबन्दी गर्ने र तालाबन्दी भई सकेपछि खुलाउन सम्बन्धित निकायले चासो नदेखाउँदा सेवाग्राही तथा सर्वसाधारण मारमा परेका छन् ।

  •  
  •  
  •  
  •  
  •