सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं : दोस्रो बुटवल सडक खाना महोत्सव

१४ पुस ०७६, रुपन्देही । “अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं” भन्ने मूलनारासहित ‘दोस्रो बुटवल सडक खाना महोत्सव’को सुरु भएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि चल्ने तीनदिने सडक खाना महोत्सव आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।

अंग्रेजी वर्ष २०२० को अवसर पारेर तीन दिनसम्म चल्ने महोत्सव उद्घाटन अघि विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० का साथै प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यले आयोजित सडक खाना महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

एक सय २५ वटा स्टल राखिएको उक्त महोत्सवमा विभिन्न जातजाति (मगर, गुरुङ, नेवार, थकाली, थारु, क्षेत्री लगायतका समुदायको खानाका परिकाहरु सडकमै पकाएर खुवाइने आयोजकले जानकारी दिएको छ ।

आयोजकले साँझ ६ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली खाना बाहेक चाइनिज, जापानीज, इटालियन, इण्डियन र थाई खानाका परिकारको स्वाद लिन पाइने भन्दै महोत्सव पृथक बन्न गएको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •